कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधवार एक समारोधकाबीच भवन उद्घाटन गरेका हुन् ।
नगरपालिकाले २०८१ साल फागुनबाट नै नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह गर्दै आएको छ । अत्याधुनिक भवनमा कार्यालय कक्षहरू, सभाकक्ष, सेवाग्राही प्रतीक्षालय र प्राविधिक पूर्वाधारहरू जडान गरिएका छन् । साथै, नवनिर्मित भवन अपाङ्गमैत्री छ भने डिजिटल प्रणालीको पनि प्रयोग गरिएको छ ।
भवन उद्घाटन कार्यक्रममा मन्त्री सिंहले निजामती विधेयकमा चलखेलका विषयमा छानबिन गरेर दोषी जोसुकै भएपनि कार्बाही हुनुपर्ने बताए।
प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्था गरिएको थियो । तर, ‘बाहेक’ शब्दका कारण समस्या सिर्जना भएको छ ।
सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको समेत बताए । सरकारको आलोचना गर्ने नेताहरुले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उनको भनाइ छ ।