नक्कली नोट प्रकरणमा छुटेलगत्तै पक्राउ परेका युनुश अन्सारी अदालतमा


काठमाडौं । नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरी छुटेलगत्तै पक्राउ परेका युनुश अन्सारीलाई प्रहरीले अदालतमा पेस गरेको छ ।
अन्सारीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बलराम लम्सालको इजलासमा पेस गरिएको हो । २०७६ मा त्रिभुवन विमानस्थलबाट ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी जेलबाट छुटेलगत्तै सीआईबीले फेरी नियन्त्रणमा लिएको थियो ।
नेशनल टेलिभिजनको अध्यक्ष रहेकै बेला अन्सारीको खातामा ११ करोड ६२ लाख जम्मा भई ११ करोड ३७ लाख निकासी भएको देखिएपछि शुद्धीकरणको अनुसन्धान अघि बढाइएको थियो ।
उनविरुद्ध ९ करोड ९ लाख बिगो माग दाबी र १५ वर्षसम्मको कैद सजायको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । पत्नी सालमा खातुनसहित तीनजना फरार प्रतिवादीका रूपमा नाम समावेश छन् ।