आइतबारबाट सञ्चालनमा आएको बनेपा–नाला–भक्तपुर सडक फेरि अवरुद्ध


काठमाडौं । ह्युमपाइप राखेर आइतबारबाट सञ्चालनमा आएको बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध भएको छ । ह्युमपाइप माथिको माटो आइतबार साँझ आएको बाढीले बगाइदिएपछि सडक बन्द भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
अरनिको राजमार्गको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्दा शुक्रबार भासिएको पुलमा अस्थायी ह्युमपाईप राखेर सञ्चालन गरिएको थियो । नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका छन् । वैकल्पिक मार्गसमेत रहेको सडक बाढीले गर्दा फेरि पूर्णरुपमा बन्द भएको छ ।