हेटौंडा उपमहानगरले दियो अनुदानमा कृषि यन्त्र तथा उपकरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आज किसानहरूलाई कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ । कृषि उत्पादनमा यान्त्रिकीकरण प्रवर्द्धन गर्दै स्थानीय कृषकहरूको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले कृषि यन्त्र तथा उपकरण वितरण गरेको हो।
उपमहानगरको कृषि विकास शाखाका अनुसार आ.व. २०८१/८२ को कृषि यन्त्रीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा १९ वटा हाते ट्याक्टर, ७१ वटा स्प्रे पम्प, ७९ वटा ज्याब प्लन्टर, १ कम्बाइन मिल, १ पानी तान्ने पम्प र ४१ वटा मकै छोडाउने मेसिन हस्तान्तरण गरिएको हो ।
आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार सञ्चालन गरिएको यस कार्यक्रममा स्थानीय किसान, सहकारी संस्था तथा कृषि समूहलाई आधुनिक कृषि यन्त्र हस्तान्तरण गरिएको हो।
कार्यक्रम ‘स्वच्छ, उत्पादनशील, समृद्ध शहर हेटौंडा’ भन्ने नारासहित हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरबाटै वितरण गरिएको थियो। कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, नगर उपप्रमुख राजेश बानियाँ, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मी लगायत जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा कृषकहरूको सहभागिता रहेको थियो।