देशको सेवा गर्न जागिर खाएका प्रहरी हाकिमको घरमा लुगा धुएर बस्नु परेको छ : प्रभु साह


काठमाडौं । प्रतिनिधि सभाका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीहरुलाई घरेलु कामदारको रुपमा राखेर अमानवीय व्यवहार भइरहेको बारेमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । पहुँचको आधारमा उच्च ओहोदाका प्रहरी र नेताहरुले नै ति प्रहरी जवानहरूलाई घरेलु कामदारको रुपमा प्रयोग गर्दै अमानवीय व्यवहार गरिरहेको उनले बताए ।
प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकको विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका साहले देश र जनताको सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेका प्रहरी जवानको दुरुपयोग गर्ने उच्च ओहोदाका प्रहरी र नेताहरुको घरको सिसी टिभी क्यामेरा समेत हेर्दा भइरहेको दुरुपयोग सार्वजनिक हुने बताए ।
‘सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीहरूलाई घरेलु कामदारमा लगाइएको छ । बन्दुक बोकेर देश र जनताको सुरक्षा गर्छु, सेवा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका, प्रवेश पाएका सिपाहीहरूलाई नेताहरूको घरमा चाकडी गर्न लगाउनु प्रहरीकै उच्च ओहोदाका व्यक्तिको घरमा निजी कामदार बनाउनु कतिको उचित छ भन्ने म जान्न चाहन्छु,’ गृहमन्त्रीसँग प्रश्न गर्दै साहले भने, ‘तपाइहरुको कमान्डमा सुरक्षा निकाय छ की छैन ? तपाइहरुको सरकार कानून अनुसार चल्छ की चल्दैन रु यदि कानून अनुसार चल्छ भने यस्तो अमानवीय व्यवहार कसरी भइरहेको छ ?’
कानून विपरित डिआईजी भन्दा माथिका सबै अफिसरको घरमा चालकदेखी घरको काम गर्नेसम्म प्रहरी जवान हुने बारेमा उनले गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गरेका छन् । यस्तै शक्तिशाली केही नेताहरुको घरमा समेत चालकदेखी घरायसी काम गर्नेहरु प्रहरी जवान नै हुने गरेको बारेमा उनले जवाफ माग गरेका छन् । यस्तै कतिपय सांसदका सवारी चालक समेत प्रहरी जवान नै हुने गरेको बताउदै उनले यस्ता बिषयमा संसदीय छानबिन समिति गठन गरेर कानून विपरीत घरेलु कामदारको रुपमा प्रहरी जवानलाई काममा लगाउनेलाई कारवाही गर्नुपर्ने माग साहले गरेका छन् ।
‘यसरी प्रहरी जवानलाई मौजुदा कानून अनुसार घरेलु कामदारको रुपमा काममा लगाउन मिल्छ की मिल्दैन रु मिल्दैन भने त्यसरी कानून नै बनाएर गर्नुस् । तर एउटा बन्दुक बोकेर म देशको सेवा गर्छु भन्ने जवानको मानमर्दन गर्न कसरी उचित भयो रु प्रहरीले सरकारी, कार्यालयको गाडी चलाउनुपर्ने भए पनि उ आज निजी गाडी चलाउन बाध्य भएको छ ।
सरकारी कार्यालयमा काम गर्नुपर्ने, बन्दुक बोकेर सुरक्षा निकायमा काम गर्नुपर्ने प्रहरी जवान कसैको निजी काम गर्न बाध्य भएको छ,’ साहले भने, ‘सुरक्षा निकायमा योगदान गर्नुपर्ने ति प्रहरी जवान घरको गमलामा पानी हाल्ने, किचनेमा काम गर्नुपरेको छ, कपडा धुनुपरेको छ ।
यसरी अमानवीय काममा लगाउँदा सरकार मौन हुने, कुनै पनि निकाय यसमा संवेदनशील नहुने । यस बारेमा कम्तीमा यो संसदले मानवता देखाओस्, म सम्मानिय सभामुखज्यूसंग विशेष आग्रह गर्न चाहन्छु । कानूनी शासन, सुशासनका लागि जिम्मेवार बनाऔँ र एउटा संसदीय छानबिन समिति बनाएर छानबिन गरौं । उच्च ओहोदाका प्रहरीको घरको सिसी टिभी क्यामेर चेक गरौं ।’
कम्तीमा अहिले भइरहेको अन्यायको कामलाई रोक्नको लागि योगदान गर्नुपर्ने उनले बताए । यस्तै प्रहरीको तल्लो दर्जामा काम गर्नेहरुमाथि उनीहरुको मान, सम्मान र स्वाभिमानसँग खेलबाड गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नभएको उनले बताए ।