Ad Image

प्रचण्ड भन्छन्– ‘माओवादी नै राजनीतिक संस्थापन शक्ति हो’

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda-.jpg

काठमाडौं । संविधानसभाबाट जारी भएको नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान र त्यसको कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिमा माओवादीको भूमिकालाई संस्थापन शक्तिका रूपमा व्याख्या गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका हैसियतमा रहेका दाहालले भने, ‘अहिले कानुनी र सङ्ख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौं । तर जतिसुकै सिट भए पनि आजको नेपाली राजनीतिमा हाम्रो भूमिकाले नै संविधान निर्माण, गणतन्त्रको स्थायित्व र उत्पीडित समुदायको अधिकारको आधार तयार पारिएको हो ।’

अध्यक्ष दाहालले नेपालको राजनीतिक संस्थापन शक्ति माओवादी भएको दाबी गदै अरू सबै शक्ति प्रतिपक्ष भएको बताए । उनले संविधान निर्माणको प्रक्रिया, शान्ति सम्झौता, द्वन्द्वपछिको संक्रमणकालीन न्याय प्रणाली र सामाजिक रूपान्तरणका आन्दोलनहरूमा माओवादीको भूमिका स्मरण गराए ।

‘महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम लगायत सबै उत्पीडित समुदायको पहिचान र अधिकारका मुद्दा स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी माओवादीले नै निर्वाह गरेको हो,’ अध्यक्ष प्रचण्डले भने ।

उनका अनुसार संसदमा संख्या घटे पनि माओवादीले उठाएका मुद्दा आजको राजनीतिक मूलधार बनेका छन् । ‘संविधानको जगमा राखिएका मूल्य र मान्यता माओवादीको आन्दोलनको प्रतिफल हुन्,’ प्रचण्डले भने ।

हाल नेपाली राजनीतिमा गठबन्धन र सत्ताको समीकरण फेरिँदै गर्दा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । यद्यपि, अध्यक्ष भन्छन्, ‘संख्या घट्न सक्छ, तर माओवादी शक्तिको ऐतिहासिक भूमिका घट्दैन ।’

उनले माओवादीलाई गणतन्त्रको आधिकारिक पक्षका रूपमा व्याख्या गर्दै संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए ।