Ad Image

सोविताको बचाउ गर्दै स्वर्णिमले भने– ‘प्रधानमन्त्रीको स्पेन भ्रमणबारे बबन्डर मच्चाइयो’

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dr-swornim.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे नबोलेको कुरालाई लिएर बबन्डर मच्चाइएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वाग्लेले गौतमले प्रधानमन्त्रीसँगै गएको नभई, प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा गएका अन्य नेपालीहरू नफर्किएको विषय उठाएको स्पष्ट पारे । उनले रास्वपा अनुसन्धान गर्ने निकाय नभएको र राज्यसँग छानबिनका लागि आह्वान मात्र गरेको बताए ।

वाग्लेले भने, “उहाँले बोल्दै नबोलेको कुरा प्रधानमन्त्रीसँग गएको मान्छे फर्किएनन् भन्यो भनेर यत्रो बबन्डर मच्चाइयो । उहाँले बोलेको खास भाषा हेरेको भए त्यो छर्लङ्ग छ ।”

उनले गौतमले प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डलका सदस्यहरूबारे नबोलेको र उनले ’विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा गएका सयौँ अन्य नेपालीका बारेमा मात्र कुरा उठाएको जानकारी दिए ।

स्पेन युरोप छिर्नेद्वारको रूपमा मानव तस्करहरूले प्रयोग गरिरहेकाले यसबारे छानबिन गर्नुपर्ने भन्दै गौतमले यो विषय उठाएको वाग्लेको भनाइ छ । उनले भिजिट भिसा प्रकरणमा रास्वपाले उठाएको आन्दोलन स्थापित हुँदै गएको जिकिर गरे ।