Ad Image

उल्टियो काठमाडौं भ्यूटावरको निर्माण रोक्ने मेयर बालेनको निर्णय

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ktm tower.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आदेशमा रोकिएको काठमाडौं भ्यूटावरको निर्माण कार्य अगाडि बढाउन उच्च अदालत पाटनले अनुमति दिएको छ ।

न्यायाधीश प्रकाश खरेलको एकल इजलासले सोमबार पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यूटावरको काम नरोक्न अन्तरिम आदेश जारी गरेको हो । मेयर शाहले मेयरस्तरीय निर्णयबाट ५ लाख जरिवाना लिएर टावरको नक्सा पास प्रक्रियालाई अघि बढाउन भने पनि अदालतले त्यसलाई यथावत राख्न भनेको छ ।

यसअघि नक्सा पास प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । यद्यपि, बालेनले गठन गरेको छानबिन समितिले गुरागाईँको गल्ती नदेखाएपछि महानगरमा संवादहीनताको अवस्था आएको छ, जसका कारण महानगरले बजेटसमेत ल्याउन सकेको छैन ।

भ्यूटावर निर्माणको ठेक्का जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले पाएको थियो । गत माघमा महानगरले निर्माण कम्पनीलाई काम रोक्न निर्देशन दिएपछि कम्पनीका सञ्चालक अदालत गएका थिए ।

अदालतको आदेशमा भनिएको छ, “निवेदकले सम्झौताबमोजिमको व्यावसायिक भवन निर्माणका लागि प्राप्त गरेको नक्सा पासको अनुमति र निर्णय यथावत कायम नै रहेको परिप्रेक्ष्यमा सम्झौता बमोजिम भवन निर्माण कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिएको छ।”

अदालतले माघ ९ गतेको पत्र तथा सोसम्बन्धी निर्णय कार्यान्वयन नगर्नु नगराउनू भनी अन्तरिम आदेश जारी गरेको छ ।