शेयर बजार ४ महिनाकै उच्च विन्दुमा, कारोबार रकम पनि उल्लेख्य वृद्धि


काठमाडौं । बिहीबार नेपाली सेयर बजार करिब चार महिनाकै उच्चतम विन्दुमा पुगेको छ। नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१ मा कायम भएको छ, जुन गत फागुन २८ गते यताकै उच्च हो । त्यस दिन बजार २७३६ अंकमा थियो ।
आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा, आज ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा १६१ कम्पनीको मूल्य बढ्दा ८७ कम्पनीको मूल्य घटेको छ । बिहीबार पनि वाणिज्य बैंकहरूको सेयरमा आकर्षण देखिएको छ । नेप्से ०.९५ प्रतिशतले बढ्दा वाणिज्य बैंक समूह सबैभन्दा धेरै ३.०२ प्रतिशतले बढेको छ ।
यसैगरी, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहमा पनि वृद्धि भएको छ । तर, व्यापार समूह ०.५३ प्रतिशत र हाइड्रोपावर समूह ०.२२ प्रतिशतले घटेका छन् ।
आज माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशतले बढेको छ । यस्तै, माण्डु हाइड्रोपावर, समता घरेलु लघुवित्त, भगवती हाइड्रोपावर र सानिमा बैंकको मूल्यमा पनि राम्रो वृद्धि देखिएको छ । वाणिज्य बैंकहरूमध्ये सानिमापछि एसबीआई, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक लगायतका बैंकहरूको मूल्यमा ३.४५ प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ ।
घट्ने कम्पनीहरूमा भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले घटेको छ । राप्ती हाइड्रो, सिन्धु विकास बैंक र पन्चकन्या माइको मूल्यमा पनि गिरावट आएको छ ।
आज रकमका आधारमा धेरै कारोबार भएका शीर्ष पाँच कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी विकास बैंक र सीईडीबी होल्डिङ्स रहेका छन् । बजारको कुल पुँजीकरण ४५ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ ।