पाडाबाच्छी हुर्काउन कृषकलाई ३० लाख अनुदान


तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ ।
केन्द्रले चालु आर्थिक वर्ष २०८१\८२ मा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप रु २९ लाख ९० हजार अनुदान दिएको हो ।
केन्द्रका प्रमुख रविन्सन अधिकारीका अनुसार १२९ जना किसानलाई २९९ वटा पाडीबाच्छी हुर्काएबापत रु १० हजारका दरले अनुदान वितरण गरिएको हो । अनुदानका लागि ३२१ वटा पाडाबाच्छी पालेका किसानले आवेदन दिएका थिए ।
कार्यालयले गत आर्थिक वर्षमा ३२७ कृषकलाई रु ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको थियो । त्यस वर्ष ६०४ पाडाबाच्छी हुर्काएबापत अनुदान उपलब्ध गराइएकामा चालु आवमा बजेट घटेकाले कम किसान लाभान्वित भएका छन् ।
गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।