Ad Image

प्रदेश अध्यक्ष यादवमाथिको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने जसपाको चेतावनी

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/unblurimageai_jasapa.jpg

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशले आफ्ना प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रशासनलाई ’झुठा मुद्दा’ फिर्ता लिन आग्रह गरेकी हुन् ।

जसपा प्रदेश अध्यक्ष यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्काले एकअर्कालाई गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि प्रहरीले यादवमाथि मुद्दा चलाएको थियो । त्यसयता यादव फरार छन् र प्रहरी उनको खोजीमा छ ।

फरार रहेकै बेला उनले नेपालबाट मधेश अलग गर्ने जस्ता धम्की समेत दिएको बताइएको छ । पार्टी उपाध्यक्ष निर्मला यादवले भने पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष यादवले कुनै गल्ती नगरेको दाबी गरिन् ।

उनले गत बिहीबार पूर्वाधार विकास कार्यालयका प्रमुखले गेटमा ताल्चा लगाएर राति कार्यालय सञ्चालन गर्दा प्रहरीले सुरक्षा दिएको र सो विषयमा बुझ्न खोज्दा एसपीले नै मधेसी हो भनेर हेपेको आरोप लगाइन् ।

उपाध्यक्ष यादवले एसपी खड्काले नै गल्ती गरेकाले उनलाई नै कारबाही गर्नुपर्ने माग गरेकी छन् ।