नारी सञ्चार गृहले स्थापना गरेको पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

झापा । झापाको नारी सञ्चार गृहले पत्रकार महिलाहरूलाई पत्रकारिता पेसामा प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरेको अक्षय कोषमा रु ५१ लाख सङ्कलन भएको छ ।
संस्थाले उक्त कोषको ब्याजबाट रु एक लाख नगद राशिको नारी सञ्चार साधना पत्रकारिता पुरस्कार र रु २५ हजार नगद राशिको नारी सञ्चार युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
विसं २०६८ मा पत्रकारितामा महिलालाई आकर्षित गर्ने, सङ्गठित गरेर तालिम प्रदान गर्ने र पेसामा टिकाइरहन प्रोत्साहित गर्ने लक्ष्य राखेर सावित्रा दाहालको अध्यक्षतामा नारी सञ्चार गृहको स्थापना भएको थियो । संस्थाले विसं २०७५ मा अक्षयकोषका लागि रकम जुटाउन सुरु गरेको हो ।
“पूर्वअध्यक्ष अम्बिका भण्डारीले रु १० हजार जम्मा गरेर अक्षयकोषको थालनी गर्नुभएको थियो”, संस्थाकी पूर्वअध्यक्ष भीमा शिवाकोटी भनिन् “उहाँको कार्यकालमा देउसीभैली खेलेर र पालिकाहरूबाट सहयोग जुटाएर अक्षयकोषमा रु २५ लाख पुर्याउने लक्ष्य राखिएको थियो । मेरो कार्यकालमा कोष वृद्धि गरेर रु ३४ लाख पुर्याएका थियौँ ।”
उनका अनुसार निवर्तमान अध्यक्ष रेजिना गौतमको कार्यकालमा अक्षयकोष वृद्धि गरेर रु ५१ लाख पुर्याइएको हो । दाताहरूले कोषमा सहयोग गर्ने क्रम जारी रहेकाले रु एक करोडसम्म पुर्याउने संस्थाको नयाँ लक्ष्य रहेको गौतमले बताइन् ।
महिला पत्रकारहरूद्वारा मोफसलमा स्थापित यो सबैभन्दा ठूलो राशिको अक्षयकोष र पुरस्कार हो । संस्थाले बर्सेनि महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकारितासम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।
नारी सञ्चार गृहले पत्रकार महिलाहरूको हितका लागि रचनात्मक कार्यहरू गर्दै आएकाले जिल्लाका विभिन्न सामाजिक सङ्घ संस्था र पालिकाहरूले अक्षयकोष वृद्धिका लागि सहयोग पुर्याउँदै आएका उनको भनाइ छ ।
नेपालको पहिलो महिला सम्पादक साधना प्रधानको स्मृतिमा संस्थाले महिला पत्रकारहरूलाई प्रदान गर्नेगरी नारी सञ्चार साधना पत्रकारिता पुरस्कार स्थापना गरेको हो । हालसम्म सावित्रा दाहाल र अम्बिका भण्डारी गरी दुई जना पत्रकार उक्त पुरस्कारबाट सम्मानित हुनुभएको छ । युवा प्रोत्साहन पुरस्कारबाट सुष्मा राजवंशी र चिरञ्जीवी घिमिरे पुरस्कृत भएका छन् ।