खडेरीले सुक्दै बेतना सिमसार: म*र्न थाले माछा, सिँचाइमा समस्या


मोरङ । मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र पानीको अभावले दिनप्रतिदिन सुक्दै गएको छ । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पोखरीमा पानीको सतह घटेको छ, जसका कारण माछाहरू मर्न थालेका छन् र त्यस क्षेत्र आसपासका सयौँ बिघा जमिनमा सिँचाइको समस्या देखिएको छ ।
बेलबारी–४ का वडाध्यक्ष चन्द्रबहादुर लिम्बूका अनुसार, धान रोपाइँका लागि सिमसारको पानी ड्याम खुला गरेर लगिएको हुँदा पोखरी थप सुकेको हो । पूर्वपश्चिम राजमार्गसँग जोडिएका बेतना सिमसारका दुईवटै पोखरी सुक्न थालेका छन् ।
पोखरीको पानीको सतह घट्नुका साथै जरुवा पानीका मूल र अन्यत्रबाट बगेर आउने पानीसमेत सुकेका छन् । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका सहसचिव राजन प्रसाईँले पछिल्लो एक महिनायता पानी नपरेपछि सबै मूलहरू सुकेको र पोखरीमा पानीको सतह घट्दा चिन्ता बढेको बताए ।
सिमसार अध्येता एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलका अनुसार, सिमसार क्षेत्रमा पानी सुक्नुमा अधिक मात्रामा पानीको प्रयोग, संरचना निर्माण, जथाभावी पानीको प्रयोग, खेती प्रणालीमा अत्यधिक प्रयोग जस्ता मानवीय कारणहरू जिम्मेवार हुन सक्छन् ।
पोखरेलका अनुसार, पछिल्ला वर्षहरूमा वर्षभरि पर्ने पानी एकै समयमा पर्ने र अन्य महिनामा सुक्खा हुँदा जमिन रसाउने र पानी भण्डारण हुने क्रम घट्दा पनि जलाशयमा पानीको मात्रा कम भएको हो ।
उनले पारिस्थितिकीय प्रणालीहरूको पुनःस्थापना, पानी पुनःभरण, जलाशय क्षेत्रको सुधार र पानीको दिगो उपयोगमा जोड दिएमा समस्या समाधान गर्न सकिने सुझाव दिएका छन् ।