नेपालमै फर्किएर काम गर्ने रहर थियो : अभिनेत्री मगर


काठमाडौं । बेलायतमा हुर्केकी अभिनेत्री मिरुना मगरले नेपालमै फर्किएर कला क्षेत्रमा काम गर्ने आफ्नो रहर रहेको बताएकी छन् । हालै आयोजित एक अन्तर्वार्तामा उनले आफ्नी आमा नेपाली रङ्गमञ्चसँग जोडिएका कारण आफू बाल्यकालदेखि नै कलाप्रति आकर्षित भएको जानकारी दिइन् ।
‘म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएँ। त्यसपछि बेलायतमा शिक्षा लिएँ। तर, मलाई नेपालमै आएर केही काम गर्ने इच्छा थियो,’ उनले भनिन्, ‘आमा नाटकमा काम गर्ने हुनुभएकाले मैले नेपाल आएर अनुप बरालसँग अभिनय प्रशिक्षण लिएर चलचित्रमा काम गर्न सुरु गरेँ।’
औपचारिक अभिनय शिक्षा नलिए पनि काम गर्दै जाँदा निर्देशक, छायाङ्कनकार र अन्य कलाकारसँग सिक्ने अवसर पाएको मगरले बताइन् । उनले पछिल्लो समय चलचित्र अध्ययन गरेका विद्यार्थीहरू छायाङ्कनस्थलमा भेटिए पनि अध्ययनको सिकाइ र वास्तविक काम गर्ने शैलीमा तालमेलको अभाव रहेको औँल्याइन् ।
मगरले चलचित्रका विभिन्न विधाका विद्यार्थीहरूले छायाङ्कनस्थलमै पुगेर प्रत्यक्ष रूपमा काम हेर्ने र बुझ्ने वातावरण बन्नुपर्नेमा जोड दिइन् । उनले पर्दामा आफूले निर्वाह गर्ने पात्रहरूले एउटा वर्ग र समुदायलाई भिन्न रूपमा प्रस्तुत गर्ने गरेको बताइन् ।
‘मैले बेलायतमा बाँचेको भन्दा चलचित्रमा बाँचेको जीवन भिन्न छ। यद्यपि, म प्रवासमा हुर्किएर शिक्षा लिएता पनि मैले चलचित्रमा निर्वाह गरेका पात्रले लिने निर्णय र उनीहरूको जस्तो विद्रोह गर्न सक्ने क्षमता छैन। सोही कारण पनि मेरा पात्र दर्शकको रोजाइमा परेको हुनसक्छ,’ उनले भनिन् ।
मगरले ‘लालपूर्जा’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । उनका ‘कबड्डी ४’, ‘जारी’, ‘ऊनको स्वीटर’ लगायतका चलचित्रहरू नेपालमा व्यावसायिक रूपमा सफल भएका छन्। ।