मनसुनजन्य विपद् पूर्वतयारीका लागि सरकार तयारी अवस्थामा छ : गृहमन्त्री

.jpeg)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि सबै मातहतका निकाय देशभर तयारी अवस्थामा रहेको बताएका छन् ।
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबारको बैठकमा उनले प्राकृतिक प्रकोपको जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना महत्त्वपूर्ण भएको बताए ।
‘पूर्वानुमानलाई सूचनाका रूपमा सम्प्रेषण गरियो भने जनधनको क्षति रोक्न सक्छौँ,’ गृहमन्त्री लेखकले भने, ‘हाम्रो मनसुनको पूर्वानुमान गर्ने निकायको प्रक्षेपण नतिजा राम्रो छ, पूर्वसूचनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।’
नेपालको भौगोलिक अवस्थाका कारण देश भूकम्प, खण्डवृष्टि, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, डुबान, र चट्याङजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उनले बताए ।
गृहमन्त्रीले मनसुनअगावै नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बललाई बाढी, पहिरो, डुबानपछिको प्रतिकार्यलाई समन्वयका साथ चुस्त बनाउन तथा सूचना प्रणालीलाई व्यवस्थित गरी पहिले नै सूचना दिने व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिए ।
रसुवामा हालै भएको घटनाको सन्दर्भमा, उनले अहिले खोज र उद्धारमै ध्यान केन्द्रित रहेको र त्यसपछि राहत तथा पुनर्निर्माणको काम अघि बढ्ने बताए । रसुवामा २० जना नेपाली भूमिबाट र ११ जना चीनको भूभागबाट बेपत्ता भएको खबर प्राप्त भएकोमा ११ जनाको शव भेटिएको र दुई जनाको मात्रै सनाखत भएको उनले जानकारी दिए ।
लेखकले बाढीपहिरोमा परेका व्यक्तिलाई राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए । साथै, १० दिनसम्म फेला नपरेका परिवारलाई मृतक परिवार सरह राहत उपलब्ध गराइने र पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि पनि सरकार तयारी अवस्थामा रहेको उनले स्पष्ट पारे ।