एनपीएललाई निरन्तरता दिन कांग्रेसको माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले नेपाल प्रिमियर लिग (एनपीएल)लाई प्राथमिकताका साथ निरन्तरता दिन माग गरेको छ ।
कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझीले आज प्रेस विज्ञप्ति जारी गर्दैै नेपाली क्रिकेटको विकासमा एनपीएल प्रतियोगिता महत्वपूर्ण कोशेढुङ्गा भएकाले यसलाई राज्यले विशेष प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने बताए ।
कांग्रेसले एनपीएलको दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित रुपमा आयोजना गर्नुपर्नेमा जोड दिएको छ ।
कांग्रेसले सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा नेपाली खेलाडीहरुको प्रभावकारी भूमिका सुनिश्चित गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनपीएलभित्र देखिएको विकृति, विसङ्गती र अनियमिततालाई हटाइ स्वच्छ, पारदर्शी र अनुशासित व्यवस्थापन प्रणाली निर्माण गर्न कांग्रेसले माग गरेको छ ।