Ad Image

इच्छाकामना गाउँपालिकामा नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाको बिरुवा वितरण

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ichhakamana.jpg

चितवन । इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडा नं २,३, ५, ६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरेको हो ।

शाखा अधिकृत समिक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बिज बिरुवा १५ हजार वितरण गरिएको हो । सुन्तलाको क्षेत्र विस्तार तथा नमूना बगैँचा बनाउने योजनाका साथ सुन्तलाका बिरुवा वितरण गरिएको हो । प्रदेश सरकारले सुन्तला प्रवद्र्धन कार्यक्रमलाई सहयोग गरेको उनले बताइन् । 

बिरुवा वितरणसँगै यहाँको सुन्तला लगाइएको क्षेत्रफल बढेको छ । उनले भनिन् “सुन्तलाको क्षेत्रफल बढेको छ । पहिला सुन्तला लगाएको बगैँचा ८५ हेक्टर क्षेत्रफल भएकोमा अहिले बढेर ९० पुगेको छ ।”सुन्तला लगाएको बगैँचामा मरेका बिरुवालाई प्रतिस्थापन गरेर नयाँ बिरुवा लगाइएको छ, भने नयाँ बगैँचा थपिएको छ ।

कार्यालयले सुन्तलाको क्षेत्रफल विस्तारसँगै नमूना बगैँचा बनाउने कार्यक्रम राखेको भए पनि काम हुन नसकेको उनले जानकारी दिइन् । नमूना सुन्तला बगैँचा स्थापना, गुरु किसान परिचालनको काम भने हुन नसकेको उनले बताइन् ।

शाखा अधिकृत पौडेलका अनुसार गुरु किसान छनोट गरेर प्रक्रिया अघि बढाउने क्रममा किसानले चासो नदेखाएपछि यो कार्यक्रम स्थगित भएको हो । उनले भनिन् “किसानले इच्छा जायर नगरेपछि समस्या भयो ।” वडा नं ३ बाट किसान छनोट गरिएको भए पनि काम हुन नसकेको उनले बताइन् । 

गुरु किसान परिचालन गर्न नसक्दा नमूना बगैँचा बनाउने कामसमेत रोकिएको उनले जानकारी दिइन् । गुरु किसानले आफूले जानेका सीपलाई किसानलाई सिकाउने र नमूना बगैँचा बनाउने योजना रहेको थियो । गुरु किसान बन्न किसान नआएपछि गाउँपालिकाको रु चार लाख खर्च हुनसकेको छैन ।