संविधान भन्दामाथि छैनन् भने प्रश्न उठेका मन्त्रीहरूलाई कार्बाही गरियोस्: सांसद चौधरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रश्न उठेका मन्त्रीहरूलाई कार्बाही गर्न माग गरेको छ । रास्वपाका सांसद अशोककुमार चौधरीले आज प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री, संघीय मामिलामन्त्री र भूमिमन्त्रीलाई तुरुन्तै कार्बाही गर्न माग गरेका हुन् ।
सांसद चौधरीले सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाए । उनले भने, ‘गृहमन्त्री रमेश लेखक, भूमिसुधारमन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेका गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन ? यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्तै कार्बाही गरियोस् ।’
भिजिट भिसा प्रकरणको विषय उठाएर रास्वपाले विगत ४७ दिनदेखि संसद्को कामकारबाहीमा भाग लिएको छैन । रास्वपाले बुधवारको प्रतिनिधि सभाको बैठक समेत बहिस्कार गरेको छ।