रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभाको बैठक बहिष्कार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै राप्रपा र रास्वपाले मंगलवारको बैठक पनि बहिष्कार गरेको हो ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध गरेका छन् । सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए । सांसद नेपालीले आफूहरूको माग अनुरूप भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाएसम्म विरोध जारी राख्ने बताए ।
त्यसपछि बोल्ने समय पाएका राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले विरोध जारी राखेको बताएका छन् ।
राप्रपा र रास्वपाका दुई सांसदले बोलेपछि दुवै पार्टीका सांसदहरु बैठक बहिष्कार गर्दै बाहिर निस्किएका छन् ।