Ad Image

विपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bp rajaja.JPG

काभ्रेपलाञ्चोक । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न आजको सुरक्षा समिति बैठकले उक्त सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।  

कार्यालयले मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि उल्लेखित क्षेत्रमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ ।  

यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले विपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ः०० बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो । 

काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षामा बाढीपहिरोको जोखिम भएकाले काठमाडौंबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताए ।  

गत वर्ष असोजको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो ।

त्यसपछि सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक सयौँ यातायातका साधान आउजाउ गर्छन् । 

बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रोखण्ड अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।