Ad Image

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा ट्रेल क्यामेरा र जीपीएस जडान सुरु

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/unesco.jpg

काठमाडौं । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमनलाई सुदृढ गर्न ट्रेल क्यामेरा र जीपीएस उपकरण जडान कार्य सुरु भएको छ ।

युनेस्कोको सहयोगमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसिएएमसी) र समृद्ध पहाडबीचको सहकार्यमा तापेथोक, हेलोक र लेलेप क्षेत्रमा साउन १ देखि ४ गतेसम्म यी प्रविधिहरू जडान गरिनेछन् ।

युनेस्कोद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यी उपकरणहरूले जैविक विविधता अनुगमनलाई थप वैज्ञानिक र भरपर्दो बनाउनुका साथै स्थानीय आदिवासी ज्ञान र आधुनिक प्रविधिबीच समन्वय गर्दै पारिस्थितिकीय अनुगमनलाई दिगो बनाउने उद्देश्य राखेका छन् ।

उपकरण जडानअघि, असार २९ र ३० गते लेलेपमा दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको थियो, जसमा स्थानीयबासी, विद्यार्थी र आदिवासी जनजाति प्रतिनिधिलगायत सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो । यस तालिमले स्थानीय समुदायलाई वातावरण संरक्षणप्रति थप जिम्मेवार र सक्षम बनाउने अपेक्षा गरिएको छ ।

केसिएएमसीका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले कञ्चनजङ्घालाई युनेस्को बायोस्फियर रिजर्भको मान्यता प्राप्त गर्ने दिशामा अघि बढिरहेको जानकारी दिँदै स्थानीय जनचेतना अभिवृद्धि र वैज्ञानिक आधारमा संरक्षणको सशक्त अभ्यासलाई प्राथमिकता दिइएको बताए । तालिम अवधिमा बायोस्फियर रिजर्भको अवधारणा, उद्देश्य र लाभबारे जानकारी दिइएको थियो ।

युनेस्को नेपाल राष्ट्रिय आयोगअन्तर्गत मानव तथा बायोस्फियर समितिका सदस्य प्राडा हरिप्रसाद अर्यालले स्थानीय ज्ञान र वैज्ञानिक प्रविधिबीचको संयोजनले उच्च हिमाली क्षेत्रका पारिस्थितिक चुनौतीहरू समाधान गर्न मद्दत गर्ने बताए ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले यो पहल कुनमिङ जैविक विविधता कोषको आर्थिक सहयोगमा सञ्चालन भइरहेको ’कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता संरक्षणका लागि सामुदायिक संलग्नता सुदृढ गर्ने’ परियोजनाअन्तर्गत रहेको जानकारी दिए ।