माधव नेपाल भन्छन्– ‘एमालेका नेताहरूले हाम्रो पार्टी सिध्याउने खेल खेले’


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग तत्काल कुनै पनि प्रकारको एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार पुराना सहकर्मी बामदेव गौतमलाई पार्टीमा स्वागत गर्दै नेपालले एमालेका नेताहरूको अभिव्यक्ति आफ्नो पार्टीलाई सिध्याउने खालको रहेको गुनासो गरेका थिए ।
उनले एमालेसँग लसपस गर्ने नेता कार्यकर्ताप्रति आफ्नो केही भन्नु नरहेको उल्लेख गरे । उनले नेता कार्यकर्ताहरूलाई निराश नहुन र नयाँ ऊर्जाका साथ जिम्मेवारीमा लाग्न आग्रह गरे ।
अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेको र विचार तथा सिद्धान्त मिलेमा अन्य समूहसँग सहकार्य गर्न सकिने भए पनि पहिलो प्राथमिकता आफ्नै पार्टीलाई बलियो बनाउनु रहेको बताए ।