सुदूरपश्चिम प्रदेश सरकारको निर्णय–छाउपडीविरुद्ध कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिने
No Author Assigned | २०८२ साउन ३ गते ००:०४
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले केही दिनअघि कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतेको अवस्थामा सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको घटनासमेतको गाम्भीर्यतालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले छाउगोठको उन्मूलन र समाजमा देखिएका सामाजिक विभेद एवं छुवाछुतयुक्त व्यवहारको नियमनलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउने भएको छ । छाउपडी प्रथाजन्य कूरीति उन्मूलन नीति, २०७६ तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्न प्रदेश, जिल्लास्तरीय र स्थानीय तहस्तरीय समितिले नियमित बैठक गर्ने र नियमित रुपमा आ–आफ्नो कार्यक्षेत्रमा अनुगमन गरी सक्रियता बढाउने निर्णय गरिएको छ ।
साथै, सामाजिक विकास मन्त्रालयमार्फत विद्यालय, समुदाय र धार्मिक सङ्घसंस्था लक्षित प्रदेशस्तरीय वार्षिक कार्ययोजना बनाई छाउपडी प्रथाजन्य कूरीति तथा जातीय विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
Facebook Comments