महेश बस्नेतको प्रस्ताव–एमालेमा अध्यक्षको विकल्प तयार छैनन्, केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्छ

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले पार्टीको नेतृत्व फेरि पनि केपी शर्मा ओलीले नै लिनुपर्ने प्रस्ताव राखेका छन् । शनिवार एमालेको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले फेरि पनि ओली नै पार्टी अध्यक्ष हुनुपर्ने प्रस्ताव अघि सारेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले आफूले प्रस्ताव गरेको विषय उल्लेख गर्दै लेखेका छन्, ‘एमालेभित्र नेतृत्वको र पार्टिको पक्षमा उभिदा असक्षम बनाउने र खुइलाउने रोग बडेको छ । जति सुकै असक्षमको ट्याग लागेपनि परिभाषित काममा आफ्नो क्षमता प्रदर्शन गरौंला ।हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताव गर्दछु ।’
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय केन्द्रीय कमिटीबाटै निर्णय हुनुपर्ने समेत बताए । आफूले पस्ताव गरेको विषय भन्दै बस्नेतले लेखेका छन्, ‘उहाँको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुन्छ ?नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन यती गम्भिर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्द्छ।’
नेता बस्नेतले ७० वर्ष उमेर मापदण्ड आफूहरुले नै बनाएको र औचित्य नदेखेपछि आवश्यकताले हटाएको समेत जानकारी गराए । उनले भने, ‘७० वर्ष उमेर मापदण्ड हिजो हामीले नै बनाएको हो, बीचमै आवश्यकताले हटायौं अब त्यसको औचित्य देखिएन ।अवकाश स्वचालित होइन , क्षमता र स्वेच्छाले हुने बिषय हो, ‘मकुन्द न्यौपाने’ जस्तो पार्टी प्रवेश गर्दा पद लिन हटाउँ भन्ने पद पाएपछि चाहिँदैन भन्ने दोधार परिस्थिति नहोस्।’
उनले २ कार्यकालको सीमा महाधिवेशनले हटाएको भन्दै अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षड्यन्त्रको आरोप नलगाउन आग्रह समेत गरेका छन् ।