काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार विद्यार्थी सहभागी, नतिजा कहिले ?


काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षा सम्पन्न गरेको छ ।
शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४ हजार १७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए ।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए। गलत उत्तरका लागि नकारात्मक अंकन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक रहेको शिक्षा विभागले जनाएको छ।
ओएमआर प्रणालीद्वारा उत्तरपुस्तिका जाँच
परीक्षाको उत्तरपुस्तिका ओएमआर प्रणालीमार्फत जाँच भइरहेको छ। यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्छ। सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, उत्तरपुस्तिका जाँच्ने काम सुरु भइसकेको छ र नतिजा भोलि बिहान, अर्थात् आइतबार बिहान, महानगरको आधिकारिक वेबसाइट मार्फत प्रकाशित हुने छ ।
काठमाडौं महानगरपालिकाले १६० संस्थागत विद्यालयहरूमा करिब ४,००० भन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ति उपलब्ध गराउने पोखरेलको भनाइ छ। यी सिटहरूमा ४० प्रतिशत सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, ५ प्रतिशत संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४ प्रतिशत काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र १ प्रतिशत ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ।
यसका अतिरिक्त, महिला, दलित, आदिवासीरजनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रका बासिन्दा र शहीदरबेपत्ता परिवारका बालबालिकाका लागि सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरूका लागि ४० प्रतिशत आरक्षण कोटा पनि छुट्याइएको छ।
परीक्षापश्चात् ओएमआरलाई मेसिनबाट स्क्यानिङ र रुजु गरी योग्यताक्रम प्रकाशन गरिनेछ। अन्तिम नामावली प्रकाशन गरी छात्रवृत्ति परीक्षाको नतिजा विद्यार्थीले फाराम भर्दा रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यताक्रमअनुसार भर्ना नतिजा सूची प्रकाशन गरिने विभागले जनाएको छ ।
विषयगत रूपमा विद्यालयमा भर्नाका लागि पूर्व मनोनयन गरिनेछ। पूर्व मनोनयनमा आफूले अध्ययन गर्न चाहेको विषय र कलेजमा मनोनयन भएको आधारमा ३ दिनभित्र भर्ना भइसक्नुपर्नेछ। तोकिएको मितिभित्र भर्ना नभएर रिक्त रहेका सिटहरूमा बाँकी विद्यार्थीहरूको योग्यताक्रमका आधारमा दोस्रो सूची प्रकाशन गरिनेछ।
यो सूचीमा पनि रोजाइअनुसारको विषय र कलेजमा भर्ना हुन नसकेमा, प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा रिक्त सिटमा Wrap-up कोटामा मनोनयनका लागि पुनः योग्यताक्रमका आधारमा रोजाइका लागि सूचना प्रकाशित गरी छनोट गरिने शिक्षा विभागले जनाएको छ ।