ललितपुर महानगरका तत्कालीन मेयर बुद्धिराज बज्राचार्यको निधन


काठमाडौं । ललितपुर महानगरपालिकाका (तत्कालीन उपमहानगर) पूर्वमेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको निधन साउन २ गते भएको हो ।
ललितपुरको कला, संस्कृति र पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान दिएका बज्राचार्य २०६१ सालमा राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री बनेका थिए ।
उनी २०५४ सालमा नेकपा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए, जो एमालेबाट ललितपुरको मेयर जित्ने अहिलेसम्मका एकमात्र जनप्रतिनिधि हुन् ।
२०२७ सालमा नगर पञ्चायतको वडाध्यक्षबाट राजनीतिमा लागेका बज्राचार्य २०३२ सालमै ललितपुर नगर पञ्चायतको प्रधानपञ्च चुनिएका थिए ।
२०४६ सालको व्यवस्था परिवर्तनपछि एमालेमा आबद्ध भएका उनलाई २०६० सालमा राजा ज्ञानेन्द्रले मनोनीत मेयरसमेत बनाएका थिए । उनी उद्योग वाणिज्य संघ ललितपुरका पूर्वअध्यक्ष पनि थिए ।