Ad Image

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकीय गन्तव्य बन्दै

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/DJI_0203.jpg

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम तथा ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर साढे पाँच किलोमिटर (५.५ कि.मि.) पदमार्ग निर्माण गरिएसँगै यो स्थान पर्यटकको रोजाइमा पर्न थालेको छ ।

हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोत वृद्धि गर्ने लक्ष्यका साथ पदमार्गको विकास गरिएको बताए ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले यसलाई गाउँपालिकाको गौरवको आयोजना भन्दै दूधकोशीको चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी, विराटनगरबाट ६५ कि.मि.को दुरीमा रहेको घोडेटारमा पर्यटकको आवागमन अझ बढ्ने विश्वास व्यक्त गरे ।

घोडेटार बजार नजिक रहेको यो पदमार्गमा आन्तरिक पर्यटकको संख्या बढेको छ भने उनीहरूलाई लक्षित गरी होमस्टे सञ्चालन गर्ने लक्ष्य पनि गाउँपालिकाले लिएको छ । हरियाली र फाँटिला पहाडी चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ ।

किरात राजाहरूले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गले स्थानीय विकासमा टेवा पुग्ने हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए ।

शङ्खामचुली डाँडा (समुद्री सतहबाट १८६५ मिटर उचाइ) हुँदै निर्माण भएको यो पदमार्गबाट तराईका फाँट, विभिन्न हिमशृङ्खला र सगरमाथासमेत देख्न सकिने स्थानीयले बताएका छन् ।