Ad Image

महिला फुटबल टिमका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1752947706-CdP4e.jpg

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् । केही दिनअघि उनले इमेलमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राजीनामा पठाएको स्रोतले जनाएको छ ।

एन्फाले एएफसी महिला एसियन कप छनोटका दौरान उज्बेकिस्तानमा भएको घटनाक्रमबारे जानकारी माग गर्दै पत्र पठाएको थियो, जसको जवाफमा वाइल्डले राजीनामा पठाएका हुन् । एन्फा अध्यक्ष पंकज नेम्वाङ बाहिर रहेकाले राजीनामाबारे निर्णय हुन बाँकी छ ।

एसियन कप छनोटमा कप्तान चयनको विषय विवादित बन्दा वाइल्ड र नेपाली टिम व्यवस्थापनबीच विवाद भएको थियो । वाइल्डले एक अन्तर्वार्तामा एन्फा नसुध्रिए आफू नेपाल नफर्कने भन्दै उज्बेकिस्तानबाटै बेल्जियम फर्किएका थिए ।

यता, नेपाली टोली स्वदेश फर्किएपछि हेड अफ डेलिगेट्स, टिम म्यानेजर र सहायक प्रशिक्षकहरूले पत्रकार सम्मेलन गरी कप्तान चयन लगायतका विषयमा मुख्य प्रशिक्षक वाइल्ड नै दोषी रहेको दाबी गरेका थिए ।

एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसमाथि जित निकाल्दा उज्बेकिस्तानसँग ३–३ गोलको बराबरी खेलेर टाइब्रेकरमा चुकेपछि एसियन कपका लागि छनोट हुन सकेको थिएन ।