संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अनुगमन


काठमाडौं । साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज पशुपतिनाथ मन्दिरसहित पशुपति क्षेत्रको अनुगमन गरेका छन् ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले अनुगमनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका हुन् ।
यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको भक्तजनको अनुभव छ । दर्शनका लागि निःशुल्क बस, लाइन व्यवस्थापन, सुरक्षालगायत सबै पक्ष व्यवस्थित देखिएको रामकोटबाट आएकी दर्शनार्थी रमा रिमालले जानकारी दिए । यसले अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज भएको छ ।
धार्मिक आस्थाका दृष्टिले साउन महिनाको सोमबार शिवको भक्तिका लागि विशेष दिन मानिन्छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।
भक्तजनको सहज आवागमनका लागि चक्रपथ घुमेर आउने निःशुल्क रुपमा चार वटा बस सेवा सञ्चालनमा ल्याइएको छ । अनुगमनका क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई सक्रिय रहन निर्देशनसमेत दिएका थिए ।
साउन महिनाभर प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ । संस्कृतिमन्त्री पाण्डे सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा लगाइएको पितृमुक्ति ज्ञान महायज्ञसमेत सहभागी भएका थिए ।