पशुपति शवदाह खरिद प्रकरण : सदस्य सचिव थापा १ लाख धरौटीमा रिहा


काठमाडौं । पशुपति शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापालाई विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ मा थापासहित १४ जना र दुई कम्पनीविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सोमबार तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा थापाको बयान र थुनछेक बहसपछि उक्त आदेश आएको हो ।
अभियोग अनुसार, ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मेसिनलाई बढी मूल्य देखाएको र १ करोड ५२ लाख रुपैयाँ पेस्कीसमेत भुक्तानी गरी कुल १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बराबरको ठेक्का सम्झौतामा हिनामिना गरिएको आरोप छ ।