Ad Image

फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_20250722_114036.jpg

पोखरा । पोखराको पहिचान बनेको फेवातालको सुन्दरता जोगाउन नागरिक, स्थानीय समुदाय र सरकार सक्रिय रूपमा जुटेका छन् । प्रदूषण, अतिक्रमण र अव्यवस्थित सहरीकरणले तालको सौन्दर्यमा ह्रास आएपछि यो सामूहिक पहल सुरु भएको हो ।

तालमा ’हर्पन खोला’ बाट गेग्रान र माटो थुप्रिने, होटल तथा रेस्टुरेन्टबाट अप्रशोधित ढल मिसिने, प्लास्टिकजन्य फोहर र जलकुम्भी झार फैलिनु मुख्य चुनौती हुन् । वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेलले यसले तालको अस्तित्वमा गम्भीर असर पारेको बताए ।

पोखरेलीहरूले आफ्नो दायित्व बोध गर्दै टोल, आमा समूह, विद्यार्थी, स्वयंसेवी क्लब, संघसंस्था र जलारी समुदायले फोहर संकलन, सचेतना र वृक्षारोपण जस्ता गतिविधिमार्फत ताल संरक्षण गरिरहेका छन् । फेवा मत्स्य सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीका अनुसार, जलारी समुदायले प्रत्येक महिनाको ३ गते ताल सफाइ अभियान चलाउँदै आएको छ ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेटमध्ये सहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड विनियोजन गरेको छ । महानगरले ’पोखरा ताल विकास प्राधिकरण’ गठन गर्ने, ताललाई ३०–४० वर्ष पुरानै स्वरूपमा फर्काउने, र जलकुम्भी झारलाई आयआर्जनको स्रोतमा रूपान्तरण गर्ने योजना बनाएको छ । 

मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशअनुसार तालको क्षेत्रफल पाँच दशमलव ७२६ वर्गकिलोमिटर कायम गरी किनारबाट ६५ मिटर मापदण्डमा पिलर गाड्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

महानगरले विशेष वातावरण संरक्षण कोष, सामुदायिक साझेदारी कार्यक्रम, फोहरमैला प्रशोधन केन्द्र र जलकुम्भीबाट हस्तकला तालिम दिने जस्ता कार्यक्रममा पनि बजेट सुनिश्चित गरेको छ ।