Ad Image

कैलालीमा अतिक्रमित वन क्षेत्र खाली गरी वृक्षरोपण

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/atikraman 3.jpg

घोडाघोडी । कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वनको अतिक्रमित वनक्षेत्र खाली गराई वृक्षरोपण गरिएको छ । यहाँ तीन दशमलव नौ हेक्टर क्षेत्र खनजोत गरी अतिक्रमण गरिएको थियो ।

डिभिजन वन कार्यालय, कैलालीले वन कर्मचारी, सुरक्षा निकाय र स्थानीय उपभोक्ताको सहयोगमा अतिक्रमित वन क्षेत्र आज खाली गराएको छ । उक्त क्षेत्रमा आजै विभिन्न प्रजातिका छ हजार बिरुवा रोपिएको डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिए ।

अतिक्रमण हटाउने कार्यमा डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र वन रक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो । वृक्षरोपणसँगै अतिक्रमणमुक्त गरिएको उक्त वन क्षेत्रको सुरक्षाका लागि ९८२ मिटर लामो ट्रेन्च नाली निर्माण गरी तारबारसमेत गरिएको डिभिजनल वन अधिकृत भट्टले जानकारी दिए । 

असारको अन्तिम साता रातिको समयमा केही व्यक्तिले ट्र्याक्टर प्रयोग गरी उक्त सामुदायिक वनको जमिन जोतेर मास छरेपछि सामुदायिक वन उपभोक्ता समूहले त्यसको प्रतिकार गरेको थियो । 

अतिक्रमणकारीले अवरोध सिर्जना गरेपछि समूहले सवडिभिजन वन कार्यालय, उदासीपुरमार्फत डिभिजन वन कार्यालय, कैलालीलाई अतिक्रमण हटाउन सहयोगका लागि अनुरोध गरेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदमबहादुर ऐरले बताए । 

त्यसपछि असार ३१ गते डिभिजनल वन अधिकृत भट्ट, गौरीगङ्गा नगरपालिका प्रमुख देवीलाल कँडेल, वडा नं १० का अध्यक्षलगायत जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिको टोलीले अतिक्रमित क्षेत्रको स्थलगत अनुगमन गरेको सव डिभिजन वन कार्यालय उदासीपुरका सहायक वन अधिकृत केशवराज पौडेलले बताए ।

त्यसै आधारमा सोमबार  कैलालीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले अतिक्रमित वन क्षेत्रलाई तत्काल खाली गराई वृक्षरोपण र तारबार गर्ने निर्णय गरेको थियो । “सोही निर्णय कार्यान्वयन गर्दै आज उक्त अतिक्रमित वनक्षेत्र खाली गराई टे«न्च निर्माण, तारबार र वृक्षरोपण गरिएको हो”, डिभिजनल वन अधिकृत भट्टले भने । 

कैलाली वन अतिक्रमणको दृष्टिकोणले देशकै सबैभन्दा संवेदनशील क्षेत्र मानिन्छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार देशभर अतिक्रमणमा परेको कूल एक लाख चार हजार हेक्टर वन क्षेत्रमध्ये ३८ प्रतिशतभन्दा बढी कैलालीमा मात्रै रहेको छ, जुन ३८ हजार ४० हेक्टर हुन आउँछ । 

यद्यपि, पछिल्ला वर्षहरूमा कैलालीका डिभिजन वन कार्यालयले अतिक्रमण हटाउन आफ्नो सक्रियता बढाएका छन् । सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै जिल्लाको १३५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको थियो । 

उनले अतिक्रमण नियन्त्रणका क्रममा आउने व्यवहारिक कठिनाइ समाधान गर्न वन निर्देशनालयले आफ्नै जेसिबी खरिद गरी प्रयोगमा ल्याएकाले अतिक्रमण नियन्त्रणमा सघाउ पुगेको बताए ।

वन अतिक्रमणका पछाडि व्यक्तिगत स्वार्थ मात्र नभई सङ्गठित र राजनीतिक कारणहरू पनि जिम्मेवार रहेको निर्देशक विष्टको भनाइ छ । “भू–माफियाहरूले सुकुम्बासी र बाढीपीडितका नाममा वन कब्जा गराउने, भोट बैंकको राजनीतिका कारण अतिक्रमणले राजनीतिक संरक्षण पाउने र सरकारी निकायबाटै वन क्षेत्रमा सडक, भवनजस्ता संरचना निर्माण हुने प्रवृत्तिले समस्यालाई थप जटिल बनाएको छ”, उनले भने ।