गृहमन्त्री र पर्यटनमन्त्रीबीच भेटवार्ता, मझगाउँ विमानस्थलबारे छलफल


काठमाडौं । कञ्चनपुरको मझगाउँ विमानस्थलको पुनःनिर्माण र स्तरोन्नतिबारे गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच आज गृह मन्त्रालयमा छलफल भएको छ । विसं २०५६ यता बन्द रहेको यो विमानस्थल चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा छलफल केन्द्रित थियो ।
विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । चालू आर्थिक वर्ष २०८२\८३ मा टर्मिनल भवन निर्माणका लागि ५ करोड र रन्वे निर्माणका लागि १३ करोड ३० लाख रुपैयाँ सङ्घीय सरकारले विनियोजन गरेको छ । गृहमन्त्री लेखकका अनुसार, विमानस्थल पुनःसञ्चालन उनको प्राथमिकता र चुनावी प्रतिवद्धता पनि हो ।
विमानस्थलको रन्वे निर्माण, टर्मिनल भवन निर्माण र विद्युत् विस्तारलगायतका विषयमा छलफल भएको हो । दक्षिणतर्फ नेपाली सेना र रत्न पाटिकाको जमिन विवाद समाधान भएर काम सुरु भएको लेखकले बताए ।
एक हजार ५ सय २५ मिटरको रन्वे निर्माण आगामी माघसम्म सक्ने गरी काम अघि बढेको मन्त्रालयले जनाएको छ । प्रदेश र स्थानीय सरकारको साझेदारीले कामले गति पाएको मन्त्री लेखकले उल्लेख गरे ।