मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव, सरकारले जनआक्रोश बढाएको जिकिर

काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभाका २१ सांसदले मुख्यमन्त्री बहाुदुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका छन् ।
लामा नेतृत्वको सरकारले जनआक्रोश बढाएको भन्दै शुक्रबार संसदीय दलको कार्यालयमा लामाविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो ।
अविश्वास प्रस्तावमा पार्टीको छवि दिनप्रतिदिन कमजोर बनाउन मुख्यमन्त्रीको भूमिकाले काम गरेको आरोप लगाइएको छ । सरकारका कामकार्बाहीका कारणले प्रदेशप्रति नै जनआक्रोश बढ्दो गतिमा रहेको उनीहरुको भनाइ छ । कांग्रेसको छवि सुधार्नका लागि संसदीय दलको नेता लामा रहेर सम्भव नहुने हुँदा अविश्वासको प्रस्ताव दर्ता गरिएको सांसदहरूले उल्लेख गरेका छन् ।
लामाले उनी संसदीय दलको बैठक यस अवधिमा तीनपटक मात्रै आव्हान गरेको अविश्वास प्रस्तावमा लेखिएको छ । सरकारले प्रदेश सभामा नयाँ विधेयकहरु प्रस्तुत गर्न नसकेका कारणले सदनले विजनेस नपाएको उल्लेख गरिएको छ ।