Ad Image

नेपालका लागि एआई विलासिता होइन, समानता र न्यायको साधन हो : सञ्चारमन्त्री गुरुङ

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Minister Gurung.jpg

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चीनको सांघाईमा आयोजित विश्व आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ मा एआईलाई नेपालका लागि विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधनको रूपमा व्याख्या गरेका छन् ।

मन्त्री गुरुङले एआई शासनसम्बन्धी उच्चस्तरीय बैठकमा संयुक्त राष्ट्रसङ्घ नेतृत्वको पारदर्शीता, समावेशिता, जवाफदेहिता र एआईको गैर–सैनिकरणलाई प्रवद्र्धन गर्ने चार्टर्डलाई नेपालको समर्थन रहेको बताए ।

उनले विश्व एआई शिक्षा कोषको लागि आह्वान गर्दै एआईले अर्को पुस्तालाई सशक्त बनाउनुपर्ने र विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

नेपालको एआई विकासको दृष्टिकोण समावेशी र मानव–केन्द्रित रहेको बताउँदै, उनले राष्ट्रिय एआई केन्द्र, एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशमा नवप्रवर्तन हबहरू स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए ।

नेपालले शासन, सार्वजनिक सेवा, विपद् प्रतिकार्य, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवद्र्धन गर्ने र युवालाई एआई युगका लागि तयार गर्न विद्यालयदेखि विश्वविद्यालयसम्म एआई र डिजिटल साक्षरता अनिवार्य बनाउने लक्ष्य राखेको छ ।

मन्त्री गुरुङले मानवताबिना प्रविधि अराजकता हो र नैतिकताबिना नवप्रवर्तन जोखिम हो भन्ने कुरा मनन गर्नुपर्नेमा जोड दिँदै, सबै राष्ट्रलाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्य निर्माणमा सहभागी हुन आह्वान गरे ।