चितवनमा आज ६ घण्टा विद्युत् कटौती हुने, लोडसेडिङ हुन लागेको भन्दै विरोध सुरु


चितवन । नेपाल विद्युत प्राधिकरणले चितवनमा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले आज (आइतबार)का लागि विभिन्न स्थानमा ६ घण्टा विद्युत् कटौतीको तालिका सार्वजनिक गरेको हो ।
भरतपुरस्थित १३२/३३ केभी सब स्टेशनबाट वितरित विद्युत् लाइनमा अत्यधिक लोड भएको भन्दै तीनवटा मुख्य फिडरहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
केन्द्रकाअनुसार आइतबार नारायणी–माडी फिडरहरूमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म विद्युत् काटिनेछ। मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म, जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ देखि ३ र बेलुका ९ देखि १२ बजेसम्म विद्युत् लाइन काटिनेछ।
विद्युत प्राधिकरणले एक दिनको लागि भनेर विद्युत् कटौतीको सूचना जारी गरे पनि यसलाई लोडसेडिङ सुरु गरिएको भन्दै स्थानीयबासीले सामाजिक सञ्जालहरुमा आक्रोश व्यक्त गरिरहेका छन्।