मिथिलामा ‘झुला’ पर्व सुरु


महोत्तरी । मधेसको मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको माहोल छ, जुन साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्छ । आइतबार साँझबाट सुरु भएको यो पर्वमा विष्णुलक्ष्मीका अवतार मानिने राम–सीता र कृष्ण–राधाका प्रतिमालाई विशेष झुलामा (कलात्मक पिङ) राखेर झुला गीत गाउँदै हल्लाइन्छ ।
महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बाजागाजासाथ झुलाघर पुर्याएर पर्व सुरु गरिएको छ । यो पर्वमा सर्वसाधारण आ–आफ्नो बस्ती नजिकका मठ मन्दिरमा भेला भई भजनकीर्तन गर्दै झुला हल्लाउँछन् र नाच्दै भक्तिमा लीन हुन्छन् । झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ ।
यो पर्व प्राचीन मिथिलाका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र जनकपुरस्थित जानकी मन्दिरको झुला महोत्सव निकै प्रसिद्ध छ । सन्त सुरकिशोर दासले वि.सं. १७८७ तिर जनकपुरमा राम–सीताको विवाह हुँदा ज्वाइँलाई प्रसन्न गराउने मैथिल परम्परा अनुसार यो पर्व सुरु गराएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णव बताउँछन् ।
झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन जनकपुरस्थित मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिन्छ । मटिहानीमा छुट्टै झुलाघर निर्मित छ, जहाँ विभिन्न मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइन्छ । यो मिथिलाको खास सांस्कृतिक पर्व रहेको अध्येता ध्रुव राय बताउँछन् । साउन पूर्णिमाका दिन झुलाको डोरी चुँडालेर पर्व समापन गरिने परम्परा छ ।