काठमाडौं–तराई-मधेस द्रुतमार्ग चाँडो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको जोड


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई\मधेस द्रुतमार्गलाई वैकल्पिक उपाय अपनाएर भए पनि यथाशीघ्र सम्पन्न गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले यो सडकले काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले यसको निर्माणमा ढिलाइ गर्न नहुने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले हिजो राति द्रुतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा देखिएका समस्याबारे गहन छलफल भएको जानकारी दिए ।
उनले खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिने भएकाले उपयुक्त उपाय खोज्न मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेका छन् ।
उनका अनुसार, काठमाडौं–तराई\मधेस द्रुतमार्ग मुलुकको रणनीतिक महत्त्वको सडक आयोजना हो र यसको निर्माण नेपाली सेनाले गरिरहेको छ ।