क्यानलाई एनपीएलबाट साढे २ करोड रुपैयाँ नाफा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झन्डै साढे २ करोड रुपैयाँ नाफा गरेको छ ।
क्यानले बिहीबार सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार, कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ र कुल खर्च २० करोड १५ लाख रुपैयाँ थियो ।
आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँमध्ये ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई बाँडिएको छ । बाँकी रकमबाट ७० लाख प्रदेश क्रिकेट संघलाई दिएपछि क्यानको खुद नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको छ ।
क्यानको केन्द्रीय कार्यसमितिले एनपीएलको पहिलो संस्करणको आय–व्यय विवरणलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यो विवरण आगामी संस्करणहरूको प्रभावकारी व्यवस्थापनका लागि महत्त्वपूर्ण आधार बन्ने क्यानले जनाएको छ ।