Ad Image

बल्थलीका दुई बस्तीमा पुनः खानेपानी उपलब्ध

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Drinking Water_Kavre.jpg

काभ्रे । पनौती नगरपालिका–११ स्थित बल्थलीमा सञ्चालित बाढीपहिराले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरिएको छ ।

विसं २०८१ असोजको बाढीपहिराले क्षति पुर्याएको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिस्टम’मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो । बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर, एक धारा’ कार्यक्रममा जोडिएका हुन् ।

विसं २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिराले क्षति पुर्याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार तामाङले बताए । 

उनका अनुसार रु १९ लाख नौ हजार ४०० खर्चेर एक सय २३ धारासहित दुईवटा २० हजार क्षमताको पानीट्याङ्की निर्माण गरिएको छ । यस्तै जनश्रमदानबाट रु चार लाख १८ हजार खर्चिएको हो ।

एक सय २३ परिवार नै तामाङ समुदायका हुन् । हाल खानेपानीको सुरक्षित प्रयोग, गुणस्तरीय खानेपानीका लागि उपभोक्ताको भूमिका र सरसफाइका तरिकाबारे स्थानीय बालबालिकालाई समेत सचेत गराइएको वडाध्यक्ष विपीन लामाले बताए ।