Ad Image

‘कुलिङ पिरियड’ छानबिन समिति बैठकः सत्तापक्षीय सांसदहरू बैठक बङ्क गरेर गोप्य छलफलमा

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kuling piriyaf satta paksha.jpg

काठमाडौं । संघीय निजामती सेवा विधेयकको दुई वर्षे ‘कुलिङ अफ पिरियड’को प्रावधानलाई निष्प्रभावि बनाउने गरी दफा थप गरेको विषयमा छानबिन गर्न गठित विशेष समितिको बैठक बंक गरेर सत्ता पक्षीय सांसदहरू आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिवेदनको निष्कर्ष निकाल्नका लागि भन्दै आइतबार बिहानैदेखि सिंहदरबारस्थित समितिको कार्यालयमा बैठक बसिरहेको थियो । समितिको बैठकमा निष्कर्ष ननिकाली सत्ता पक्षीय सांसदहरू भने बैठक छोडेर बाहिरिएका छन् । स्रोतका अनुसार उनीहरू प्रतिवेदनमा लेख्ने भाषाको सम्बन्धमा छुट्टै रणनीति बनाउन जुटेका हुन् ।

समितिका सभापति जीवन परियारसहित सदस्यहरू कांग्रेस सचेतक सुशीला थिङ, एमालेका सांसदद्वय ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य बैठक स्थलबाट बाहिरिएका हुन् । उनीहरू यो समाचार तयार पार्दासम्म बैठक स्थल प्रवेश गरेका छैनन् । 

बैठक स्थलमा माओवादी केन्द्रका सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सत्ता पक्षीय सांसदहरूलाई कुरिराखेका छन् । समितिको बैठक छोडेर सुटुक्क आन्तरिक छलफलतिर लाग्दा सत्ता पक्षीय सांंसहरुमाथि आशङ्का उब्जिएको छ ।

२३ असारमा प्रतिनिधि सभाले ‘कुलिङ अफ पिरियड’को बदमासीको सम्बन्धमा छानबिन गर्न ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न विशेष समिति’ गठन गरेको थियो । समितिलाई २१ दिनको समय दिइएको थियो । निर्धारित समयमा नसकिएपछि ७ दिन समय थप गरिएको थियो ।

थपिएको समयसीमा पनि आइतबार सकिने भएपछि सोमबारको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन बुझाउने तयारी गरिएको छ । तर दोषी कसलाई देखाउने भन्ने विषयमा समितिका सदस्यहरूका बिचमा अझै पनि कुरा मिलिसकेको छैन ।