राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजना सुस्त गतिमा


काठमाडौं । तराई–मधेसको सिँचाइ, खानेपानी र ऊर्जा समस्याको समाधानका लागि महत्त्वपूर्ण मानिएको राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ । निर्माण सम्झौता भएको सात वर्ष बितिसक्दा पनि हालसम्म जम्मा ३७ प्रतिशत मात्र काम सकिएको छ ।
शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसहितका मन्त्रीहरूले आयोजनाको स्थलगत अवलोकन गरेपछि काममा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक राज गौतमले दोस्रो चरणको ठेक्कामा तीन वर्षमा जम्मा १०.१३ प्रतिशत मात्र प्रगति भएको जानकारी दिए ।
मुख्यमन्त्री सिंहले मधेसमा पानीको अभाव भइरहेको बेला आयोजनामा ढिलाइ हुनु दुःखद भएको भन्दै यस विषयमा नेपाल सरकारलाई औपचारिक रूपमा प्रतिवेदन बुझाउने बताए । भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले त काम समयमै नसकिए ठेक्का रद्द गर्नुपर्ने बताएका छन् ।
करिब ४९ अर्ब रुपैयाँ लागत रहेको यो आयोजना सम्पन्न भएपछि मधेसका पाँच जिल्लामा सिँचाइ सुविधा पुग्ने र ३१.०७ मेगावाट बिजुली उत्पादन हुने लक्ष्य छ ।