‘कुलिङ पिरियड’ त्रुटिमा रामहरि खतिवडा जिम्मेवार रहेको निष्कर्ष, भन्छन्–नेतृत्वसँग सल्लाह गरेर निर्णय गर्छु

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramhari khatiwada ku.PNG

काठमाडौं। सङ्घीय निजामती सेवा विधेयक, २०८० मा भएको गडबडीमा  राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ । ‘कुलिङ पिरियड’ मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले  उच्च पदस्थ कर्मचारीको हकमा पद अनुकूल आचरण गरेको नदेखिएको निष्कर्ष निकालेको हो । 

उच्च पदस्थ कर्मचारीले  पद अनुकूलको आचरण गरेको भए कुलिङ पिरियड प्रतिवेदन लेखनमा त्रुटि नहुने समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

छानबिन समितिले निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड निष्क्रिय हुने भाषा प्रयोग हुनुलाई गम्भीर त्रुटिको रुपमा औंल्याएको छ । जसअन्तर्गत राज्य व्यवस्था समिति सभापतिको हैसियतमा हस्ताक्षर गरेका खतिवडालाई संकेत गर्दै प्रतिवेदनमा राजनीतिक पदाधिकारी राजनीतिक र नैतिक रुपमा जिम्मेवार हुने उल्लेख गरिएको छ ।

यसबारे सभापति खतिवडाले भने प्रतिवेदन हेरेपछि नेतृत्वसँग सल्लाह गरेर निर्णय लिने बताएका छन् ।आफूले विधेयकको प्रतिवेदनमा हस्ताक्षर गरेको भएता पनि त्रुटि ख्याल गर्ने सन्दर्भमा अन्य धेरैको भूमिका हुने सभापति खतिवडाको भनाइ रहेको छ ।


राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयक जेठ २ गते पास भएको थियो । समितिबाट पास भएको एक महिनापछि असार १ गते  प्रतिनिधि सभामा छलफल गरिएको थियो । सभाले असार १५ मा निजामती विधेयक पारित गरेको थियो ।

छानबिन विशेष समितिको प्रतिवेदन आज प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी  छ । 


Facebook Comments