राज्य व्यवस्था समिति सभापति खतिवडालाई कारबाही गर्ने कांग्रेसको संकेत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संसदीय समितिको प्रतिवेदनको मर्मअनुसार नै पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । यस विषयमा पार्टीभित्र छलफल हुने र प्रतिवेदनमा उल्लेख भएका कुरालाई मध्यनजर गरेर निर्णय लिइने शर्माको भनाइ छ ।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने ठहर प्रतिवेदनमा गरिएको छ । यसै कारण खतिवडाले पदबाट राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ ।
कांग्रेसका सहमहामन्त्री जीवन परियारको नेतृत्वमा बनेको संसदीय समितिले तयार पारेको प्रतिवेदन मंगलबार संसदमा पेश गरिएको थियो । उक्त प्रतिवेदनले ‘कुलिङ अफ पिरियड’को प्रावधानमा भएको चलखेलमा खतिवडाको भूमिकामाथि प्रश्न उठाएको छ ।
महामन्त्री शर्माको भनाइलाई आधार मान्ने हो भने, ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादमा सभापति खतिवडालाई कांग्रेसले कारबाही गर्ने संकेत गरेको छ । अब खतिवडाले आफैं राजीनामा दिन्छन् वा पार्टीले उनलाई राजीनामा दिन लगाउँछ, त्यो भने कौतुहलको विषय बनेको छ ।