जलवायु परिवर्तनका चुनौती सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक : प्रधानमन्त्री ओली


तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न विश्वव्यापी सहकार्य र साझेदारी बढाउनुपर्नेमा जोड दिएका छन् ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको एक सत्रलाई सम्बोधन गर्दै उनले कार्बन उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो जोखिममा रहेको बताए ।
प्रधानमन्त्री ओलीले हिमालय पग्लने क्रमले मानवीय र भौतिक जोखिम बढाएको भन्दै हिमालदेखि समुद्रसम्मको रक्षाको अवधारणामा सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको स्मरण गराए ।
उनले नेपालले तयार पारेको जलवायु जोखिम न्यूनीकरणको रणनीतिको कार्यान्वयनमा विदेशी साझेदारहरूले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।
ओलीले हिमालयलाई प्राकृतिक ’रिचार्ज सिस्टम’ भन्दै यसलाई बचाउन र समुद्री तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयासको खाँचो रहेको बताए ।
उनले दिगो विकासका लक्ष्य प्राप्त गर्न समन्वयात्मक र एकीकृत प्रयासका लागि नेपालको तर्फबाट पूर्ण सहकार्य हुने प्रतिबद्धता जनाए ।
Facebook Comments