तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै


तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँध निर्माणको कामले तीव्रता पाएको छ ।
कुल ९ लाख घनमिटर कङ्क्रिट प्रयोग हुने यस बाँधमा हालसम्म ७३ हजार घनमिटर कङ्क्रिटको काम सकिएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, चैत ७ गतेदेखि मुख्य बाँधको कङ्क्रिट निर्माण सुरु भएको थियो ।
व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ मा बग्ने सेती नदीलाई ६२६.९२ मिटर लामो सुरुङ बनाएर फर्काएपछि यो काम सुरु भएको हो ।
आयोजनाको ’प्याकेज–१’ अन्तर्गत पर्ने १४० मिटर अग्लो बाँधको काम ४३.५ प्रतिशत सम्पन्न भइसकेको छ । आयोजनाको समग्र निर्माण कार्य भने २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
यसको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ, जसमा एडीबी, जाइका, युरोपियन लगानी बैंक र नेपाल सरकारको लगानी रहेको छ ।
Facebook Comments