उत्तराखण्डको बाढीपहिरोमा धादिङका पनि ४ जना सम्पर्कविहीन


काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ । यसअघि जाजरकोट, बर्दिया र जुम्लाका १८ जना सम्पर्कविहीन भएकोमा अहिले धादिङको ज्वालामुखी गाउँपालिकाका ४ जना थपिएका छन् ।
प्रहरीका अनुसार, ज्वालामुखी गाउँपालिकाका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ कामका लागि उत्तराखण्ड गएका थिए ।
परिवारबाट उनीहरू सम्पर्कविहीन भएको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई खोजीका लागि अनुरोध गरेको छ ।
उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा साउन २० गते आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको थियो । त्यहाँ रहेका नेपालीहरूको खोजी र उद्धार कार्य जारी छ ।
जाजरकोटका १३ जना, बर्दियाका ४ जना र जुम्लाका एक जना पनि सम्पर्कविहीन भएको यसअघि नै जानकारी आएको थियो । स्थानीय पालिकाहरूले बेपत्ता भएका नेपालीहरूको खोजीका लागि परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।
Facebook Comments