अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जानकारी


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी ककेशस प्रतिद्वन्द्वी अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौतामा हस्ताक्षर गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । सम्झौताको इरान र पश्चिमा राष्ट्रहरूले स्वागत गरेको बताइएको छ ।
शुक्रबार ह्वाइट हाउसमा आयोजित शान्तिवार्तापछि निर्णय सुनाउँदै भने, “अर्मेनिया र अजरबैजानले दशकौँलामो द्वन्द्वपछि दिगो शान्तिका लागि प्रतिबद्ध बनेका छन् ।”
अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले ट्रम्पको मध्यस्थताका लागि आभार व्यक्त गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि योग्य व्यक्ति भएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा आयोजित ‘शान्ति सम्झौता’ हस्ताक्षर समारोहपछि भने, “दुई पूर्व सोभियत गणतन्त्रले सबै प्रकारका लडाइँलाई सदाका लागि रोक्न, व्यापार, यात्रा र कूटनीतिक सम्बन्ध खोल्न र एकअर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न प्रतिबद्ध भएका छन् ।”
तथापि, लामो समयदेखिका शत्रुहरूबीचको सम्झौताको कार्यान्वयनलाई व्यबस्थित गर्न र बाध्यकारी बनाउन बिस्तृत व्याख्या सम्झौताको मुख्य अंशमा समावेश नभएका कारण सम्झौताको प्रकृति अस्पष्ट देखिएको छ ।
ट्रम्पले सम्झौताका हस्ताक्षरकर्ता दुई नेता (अर्मेनियाली राष्ट्रपति पाशिन्यान र अजरबैजानका राष्ट्रपति अलियेभ) बीच भविष्यमा ‘राम्रो सम्बन्ध’ रहने बताएका छन् ।
“यदि त्यहाँ अझै द्वन्द्व बाँकी रहेमा उनीहरूले मलाई फोन गर्नेछन् र हामी यसलाई सुल्झाउन सहयोग गर्नेछौँ,” उनले भने।
क्रिश्चियन बहुल अर्मेनिया र मुस्लिम बहुल अजरबैजानले दशकौँदेखि आफ्नो सीमा र एक अर्काको क्षेत्रभित्र जातीय क्षेत्रको स्थितिलाई लिएर विवाद गर्दै आएका छन्।
अजरबैजानले सन् २०२३ मा अर्मेनियाली सेनाबाट पुनः कब्जा गरेको विवादित काराबाख क्षेत्रलाई लिएर उनीहरू दुई पटक युद्धमा गए । युद्धका कारण एक लाख भन्दा बढी जातीय अर्मेनियालीहरूको पलायन भएको थियो।
– ऐतिहासिक हस्ताक्षर –
अजरबैजान र अर्मेनियाली नेताहरूले ह्वाइट हाउसले ‘संयुक्त घोषणापत्र’ भनेको दस्तावेजमा हस्ताक्षर गर्नुअघि ट्रम्पसँग सन्तुष्ट चेहरा र नजरमा हात मिलाएका सञ्चारमाध्यमहरूमा आएका तस्बीर र श्रब्यदृश्य चित्रमा देख्न सकिन्छ ।
यसैबीच, लामो समयदेखि अजरबैजानमा राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका अलियेभले तीन दशकभन्दा बढी समयदेखि युद्धमा रहेका दुई देशबीच भएको यो ‘ऐतिहासिक सम्झौता’ हो भनेका छन्।
उनले भने, “हामी आज ककेशसमा शान्ति स्थापना गर्दैछौँ ।”
अलियेभले ट्रम्पलाई शान्ति पुरस्कार प्रदान गर्न सिफारिस गर्ने नोबेल समितिलाई पाशिन्यानसहित संयुक्त अपिल पठाउने प्रस्ताव गरेका छन् ।
उनले भने, “राष्ट्रपति ट्रम्प नभए नोबेल शान्ति पुरस्कारको हकदार को हुनसक्छ ।”
अलियेभले अजरबैजानसँगको अमेरिकी सैन्य सहयोगमाथिको प्रतिबन्ध हटाएकोमा ट्रम्पलाई धन्यवाद दिएका छन्।
पाशिन्यानले भने, “शान्ति सम्झौताको सुरुआतले दुई देशबीच दशकौँदेखिको द्वन्द्व अन्त्य गर्न र नयाँ युगको सुरुवात गर्न मार्ग प्रशस्त गर्नेछ ।”
सम्झौतामा हस्ताक्षर गरेपछि सार्वजनिक अभिव्यक्ति दिँदै अर्मेनियाली नेताले ‘शान्तिप्रिय’ ट्रम्पबिना ‘सफलता’ सम्भव नहुने बताएका थिए ।
सम्झौतामा हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनमा पाशिन्यानले भने, “आज हामी शान्ति कायम भएको घोणषा गर्छौँ ।”
यस सम्झौतामा अजरबैजानलाई बाकुको लामो समयदेखिको माग नखचिवानसँग जोड्न अर्मेनिया हुँदै जाने ट्रान्जिट करिडोर स्थापना गर्ने उल्लेख गरिएको छ ।
‘अन्तर्राष्ट्रिय शान्ति र समृद्धिका लागि ट्रम्प मार्ग’ नाम दिइएको करिडोरका लागि रणनीतिक र स्रोतसाधनले भरिपूर्ण यस क्षेत्रमा संयुक्त राज्य अमेरिकासँग विकास अधिकार हुनेछ ।
लामो समयदेखि करिडोरको विरोध गर्दै आएको इरानले देशलाई ककेशसबाट अलग गर्ने डरले शनिबार सम्झौताको स्वागत गरेको छ तर करिडोर बनाउने बिषयलाई लिएर केही भिन्न भनाइहरू सार्वजनिक गरेको छ । इरानले कुनै पनि तरिका वा रूपमा विशेष गरी साझा सीमाको आसपासमा कुनै पनि विदेशी हस्तक्षेपको नकारात्मक परिणामहरू हुनसक्ने भन्दै करिडोरसम्बन्धी उक्त बुँदामा चासो व्यक्त गरेको छ ।
लामो समयदेखि अजरबैजानको समर्थन गर्दै आएको टर्कीको विदेश मन्त्रालयले ‘दिगो शान्ति स्थापनागर्ने दिशामा हासिल भएको प्रगति’को प्रशंसा गरेको छ ।
बेलायती विदेशमन्त्री डेभिड ल्यामीले वासिङ्टनमा चालिएका साहसिक कदमका लागि दुवै देशलाई बधाई दिएका छन् । युरोपेली सङ्घका प्रमुखले यसले दुवै देश र सम्पूर्ण क्षेत्रका लागि दिगो र स्थायीे शान्तिका लागि मार्ग प्रशस्त गर्ने बताएका छन् ।
– ‘रणनीतिक’ साझेदार –
अजरबैजान र अर्मेनियाबीच गत मार्चमा विस्तृत शान्ति सम्झौता भएको थियो । यद्यपि, अजरबैजानले पछि दस्तावेजमा हस्ताक्षर गर्नुअघि आर्मेनियाको संविधानमा संशोधन र काराबाखको क्षेत्रीय दाबी फिर्ता लिने लगायतका धेरै मागहरूको रूपरेखा प्रस्तुत गरेको थियो।
पाशिन्यानले सन् २०२७ मा संवैधानिक जनमत सङ्ग्रह गर्ने घोषणा गर्नुभएको छ । जनमत सङ्ग्रह अर्मेनियालीहरूबीच गहिरो विभाजनकारी मुद्दा हुनेछ ।
शुक्रबारको सम्झौताबाट आर्मेनियाले के फाइदा लिन सक्छ भन्ने प्रश्नमा ह्वाइट हाउसका एक अधिकारीले भने, “यो एक विशाल रणनीतिक व्यापारिक साझेदार हो, सम्भवतः विश्व र संयुक्त राज्य अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो र रणनीतिक सहयोगी हो।” नाम नबताउने शर्तमा उनले भने, “यहाँ चीन, रुस र इरानले हार बेहोरेका छन् ।”
काराबाखको विवादित पहाडी क्षेत्र अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको भागको रूपमा मान्यता प्राप्त छ, तर सोभियत सङ्घको विघटनपछि भएको युद्धपछि लगभग तीन दशकसम्म अर्मेनियासमर्थक पृथकतावादीहरूले यसलाई नियन्त्रण गरेका थिए।
अजरबैजानले सन् २०२० को युद्धको समयमा उक्त क्षेत्रको केही भाग कब्जा गरेको थियो र त्यसको तीन वर्षपछि सबै कब्जा गरेको थियो। युद्धका क्रममा करिब एक लाख जातीय अर्मेनियालीहरूको लगभग सम्पूर्ण स्थानीय जनसङ्ख्या अर्मेनियामा शरण लिन पुगेको थियो ।
Facebook Comments