कैलाली कारागार कैदीबन्दीको कब्जामा, स्थिति नियन्त्रण बाहिर


धनगढी । कैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी भएको हिंसात्मक घटनाको ३६ घण्टापछि पनि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सकेको छैन । घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर कारागारको थुनुवा कक्षलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् र सुरक्षाकर्मीलाई प्रवेश दिएका छैनन् ।
यो घटनाको वास्तविक जानकारी सार्वजनिक हुन नसकेको अवस्थामा कैदीबन्दीहरूले मानव अधिकार आयोगको टोलीसँग भेट्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाहेकका माथिल्लो तहका प्रतिनिधिहरूसँग मात्र कुरा गर्ने बताएका छन् । उनीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग वार्ता गरेर मात्र आफ्ना माग राख्ने अडान लिएका छन् ।
कैदीबन्दीहरूले कारागारभित्रका समस्याबारे स्थानीय प्रशासनले बारम्बार बेवास्ता गरेको आरोप लगाएका छन् । गत साउन १४ गते पनि उनीहरूले मानव अधिकार आयोगलाई सुरक्षाको माग गर्दै पत्र पठाएका थिए, तर त्यसलाई गम्भीरतापूर्वक नलिँदा शुक्रबार हिंसात्मक घटना भएको मानव अधिकार आयोगको ठहर छ ।
शुक्रबार ‘ब्लक ए’का कैदीबन्दीले भित्ता फोडेर ‘ब्लक बी’मा आक्रमण गर्दा धनगढीका भरत चौधरीको मृत्यु भएको थियो । घटनामा घाइते भएका ४९ जनामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने दुई जनाको आईसीयूमा उपचार भइरहेको छ । १५० जना क्षमताको उक्त कारागारमा करिब ७०० जना राखिएको बताइएको छ ।
Facebook Comments