पातारासी गाउँपालिकाले सम्पन्न गर्यो २१७ वटा योजना


जुम्ला । पातारासी गाउँपालिकाले गत आर्थिक वर्ष २०८१\८२ मा विभिन्न २१७ वटा विकासे योजना सम्पन्न गरेको छ ।
पालिकाभित्रका सात वटा वडामा जम्मा २२६ वटा योजना सम्झौता भएकामा २१७ वटा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन शाहीले जानकारी दिए ।
वडा नं १ मा २४ वटा योजनामध्ये २२ वटा र वडा नंं २ मा ४२ योजनामध्ये ४० योजना निर्माण भएका छन् ।
यसैगरी वडा नं ३ मा ३९ मध्ये ३३ र वडा नं ४ मा ३९ मध्ये ३८ वटा योजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ ।
यसैगरी, वडा नं ५ मा २९ योजनामध्ये सबै, वडा नं ६ मा ३४ मध्ये ३१ वटा र वडा नं ७ मा २४ योजनामध्ये सबै निर्माण सम्पन्न भई सञ्चालनमा आएको पातारासी गाउँपालिकाले जनाएको छ ।
उक्त योजनाका लागि रु १५ करोड ७६ लाख २२ हजार बजेट खर्च भएको छ । यसरी वडा तहमा विनियोजन भएको कूल बजेटको ८१ दशमलव १२ प्रतिशत विकास बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।
सो गाउँपालिकाले गत आर्थिक वर्षमा रु १६ लाख ५० हजार आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा बढी रु २३ लाख २९ हजार ६४ हजार सङ्कलन गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘ठेक्का लगाइएका सातमध्ये बहुवर्षीय एक योजनाबाहेक बाँकी ६ वटा योजना सम्पन्न भएका छन् । चालु तर्फ रु २२ करोड ७९ लाख १६ हजारमध्ये ८६ प्रतिशत खर्च भएको छ ।’
पुँजीगत तर्फ रु १२ करोड ३३ लाख ७१ हजार विनियोजन गरिएकामा ६४ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ ।
Facebook Comments